उद्योग संघद्वारा संघसंस्था अवलोकन र आन्तरिक पर्यटन प्रवद्र्धन भ्रमण सम्पन्न

औद्योगिक र पर्यटन विकासका लागि सहकार्यमा जोड

 

 

बुटवल\रुपन्देही उद्योग संघको एक टोलीले बार्षिक कार्यक्रम अन्तरगत जेष्ठ २० र २१ गते संघसंस्था अवलोकन भ्रमण सम्पन्न गरेको छ ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले छिमेकी जिल्ला कपिलवस्तु र अर्घाखाँचीको संघसंस्था, धार्मिक एर्व पर्यटकीय क्षेत्रहरुको तथा पर्यटन अवलोकन भ्रमण गरेको हो । भ्रमणका क्रममा त्यहाँ रहेका उद्योगी व्यवसायीहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया गरिएको संघका महासचिव हरि बहादुर खत्रीले बताउनु भयो ।


भ्रमणको पहिलो दिन कपिलबस्तु उद्योग वाणिज्य संघ जितपुरको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । संघको सचिवालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थागत रुपमा गरिने भ्रमण तथा अवलोकन कार्यक्रमले व्यवसायिक अनुभव साटासाट गर्न तथा सहयोग आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । बक्ताहरुले यस क्षेत्रको आर्थिक विकासका लागि औद्योगिक विकास हुनु जरुरी भएको कुरामा जोड दिदै कपिलवस्तुमा औद्योगिक ग्राम सञ्चालन गर्न र पर्यटन उद्योगलाई बलियो बनाउन पहल थाल्न आग्रह पनि गरिएको थियो ।
सो अवसरमा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले सरकारले औद्योगिक विकासका लागि नीति र कार्यक्रम तथा वजेटमा समावेश गरेका सहुलियतहरु कार्यान्वयनमा ल्याउन सकेमा औद्योगिक बातावरण बन्ने हुँदा त्यसमा ध्यान दिन आग्रह गर्नु भयो । उहाँले रुपन्देही र कपिलवस्तु पछिल्लो समय मुलुक कै आर्थिक केन्द्रका रुपमा विकसित हँुदै गएको हुँदा यस क्षेत्रमा उद्योगको स्थापना र पर्यटनको विकासमा स्थानीय सरकारहरुलाई मिलेर काम गर्ने वातावरण तयार गर्न सुझाव दिनु भयो ।
संघका अध्यक्ष परिषद्का संयोजक एवं लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले स्थानीय आवश्यकता र उपभोक्ताहरुको चाहनालाई ध्यानमा राखेर आर्थिक गतिविधि गर्न सकियो भने संमृद्धिको लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले काम गर्ने दौरानमा खुट्टा तान्ने र विरोध गर्ने प्रवृति हाम्रो समाजमा धेरै छ तर इमानदारिताका साथ काम गरिएको खण्डमा त्यस्ता प्रवृतिहरु पछाडी पर्ने बताउनु भयो ।


कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले संस्थागत परिचय दिदै कपिलवस्तुमा आर्थिक विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि सहकार्य, सहमती र कार्यक्रम जरुरी रहेको हुँदा रुपन्देही उद्योग संघसंग सहकार्यको प्रस्ताव राख्नु भयो ।
कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले संघले स्थापनाको छोटो समयमा केही महत्वपूर्ण कामहरु गरेको जानकारी गराउँदै आर्थिक विकास र औद्योगिकिकरणका लागि आफुहरुले दिन सक्ने योगदान दिन पछाडी नपर्ने बताउनु भयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्ष प्रद्युम्मलाल श्रेष्ठ, वोनिन पिया, सल्लाहाकार भुपाल कुमार श्रेष्ठ र ऋषि भण्डारी, अवलोकन भ्रमण कार्यक्रमका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, कपिलबस्तु उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तुल्सीराम घिमिरे लगायतले बोल्नु भएको थियो ।
कपिलवस्तुको छलफल कार्यक्रम पछि भ्रमण टोली अर्घाखाँचीको धार्मिक पर्यटकिय स्थल नरपानी तथा सुपादेउरालीको अवलोकन गर्न गएको थियो । त्यस अवसरमा नरपानी क्षेत्रको पर्यटकिय विकाससँगै त्यहाँ रहेको चुनढुङा खानीको अवस्थाका बारेमा स्थानियहरुसँग जानकारी लिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी गराउनु भयो ।