रुपन्देही उद्योग संघद्वारा बजेट सम्बन्धी अन्तरक्रियाको आयोजना

 

 

 

बुटवल\रुपन्देही उद्योग संघको आयोजनामा आ.व. २०७९/८० को बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष माधब प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल र आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्ती आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख भन्सार अधिकृत ढकालले बजेटमा उल्लेखित उद्योग व्यवसाय क्षेत्रसँग सम्बन्धित भन्सारका विषयहरुमा र प्रमुख कर अधिकृत आचार्यले राजस्व व्यवसाय कर एवं आयकर लगायतका विषयहरुमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संघका अध्यक्ष माधब प्रसाद पौडेलले कार्यक्रम उपर प्रकाश पार्नुहुँदै सबै उद्योगी व्यवसायीहरुलाई आ-आफ्ना विषयहरुमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताउनुहुँदै अन्तरक्रियाबाट जिज्ञासाहरुको समाधान हुने विश्वास लिनुहुँदै सबैलाई स्वागत गर्नु भएको थियो ।
सो अवसरमा प्रस्तुत गरिएका कार्यपत्रहरु उपर उद्योगी रामप्रसाद बस्याल, मेघराज भण्डारी, रामप्रसाद खनाल,राजु अधिकारी दिलु शाही बिष्णु प्रसाद रेग्मी लगायतले आफ्ना जिज्ञासाहरु राख्नु भएको थियो । कार्यक्रममा उठेका विषयहरु उपर दुबै कार्यालयका प्रमुखज्यूहरुले प्रस्ट पार्नु भएको थियो । सो अवसरमा लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एवं संघका अध्यक्ष परिषद्का अध्यक्ष एजाज आलमले कर तथा भन्सारका कर्मचारी साथीहरुलाई उद्योग मैत्री बन्न आग्रह गर्नुभएको थियो । सोही अवसरमा बोल्नुहुँदै संघका पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले संघले उद्योगीहरुको आवश्यकता बमोजिम कार्यक्रमहरु आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
संघका प्रथम उपाध्यक्ष, कृष्ण प्रसाद पराजुलीको धन्यवाद ज्ञापन र महासचिव हरिबहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा करीब २०० जना उद्योगीहरुको सहभागिता रहेको थियो ।