अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदान

 

 

बुटवल/रुपन्देही व्यापार संघ व्याग बस्तुगत उपसमितिले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदान गरेको छ ।
उपसमितिको पहलमा संकलन गरिएको खाद्य सामाग्री कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संयुक्त रुपमा आश्रमका व्यवस्थापक डोल बहादुर रामदामलाई हस्तान्तरण गर्नु भएको थियो ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले समाजमा रहेका हरेक नागरिकको बाच्न पाउने अधिकारलाई सुरक्षित गर्दै उनीहरुको श्रम र शिपलाई सदुपयोग गर्ने अवसरको सिजर्ना गर्न सबैले हालेमालो गर्नु पर्ने कुरामा जोड दिनु भयो ।


उहाले समाजमा विभिन्न कारण अशक्त हुन पुगेका नागरिकहरुको सुरक्षामा उपमहानगरपालिकाले समान व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्दै अपहेलित हुने अवस्था आउन नदिने बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघले व्यवसायीक अधिकारको वकालतसंगै समाजप्रतिको उत्तरदायित्वलाई पनि आफ्नो लक्ष्य राखेको हुदा यस प्रकार सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताउनु भयो ।
व्याग बस्तुगत उपसमितिका संयोजक शंकर पोखरेलको अध्यक्षता सहसंयोजक विजयसिंह रायमाझीको स्वागत तथा सचिव दिपेन्द्र न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा आश्रमका व्यवस्थापक डोल बहादुर रामदामले आश्रमको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधी भण्डारी, कोषाध्यक्ष नामदेव पाण्डे, सचिव फर्सुराम पन्थ कार्यसमिति सदस्यहरु, उपसमितिका सस्दस्यहरु तथा व्यवसायीहरुको उपश्थिति रहेको थियो ।
सो अवसरमा करिव २५ हजार मुल्य बराबरको चामल, तेल, दाल, आलु, प्याज, साबुन लगायतको सामाग्री निशुल्क प्रदान गरिएको थियो ।