राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी सुरु

विभिन्न मन्त्रालय एवं विभागहरुमा प्रस्ताव पेश

 

 

बुटवल/रुपन्देही उद्योग संघले २०७९ पौष ७ देखि १९ गतेसम्म बुटवलमा आयोजना गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको जनाएको छ । संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँग सहकार्य गरेर प्रदर्शनी आयोजना गर्न लागेको हो ।


“संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारीका क्रममा संघका अध्यक्ष माधब प्रसाद पौडेलको नेतृत्वमा संघको प्रतिनिधि मण्डलले काठमाडौं स्थित विभिन्न मन्त्रालय र सम्बन्धित विभागहरुमा भेट गरी सह आयोजक र प्रवद्र्धक बनेर आयोजनालाई सफल बनाउनका निम्ति आग्रहसहितको प्रस्ताव पेश गरेको छ ।
त्यसक्रममा टोलीले पूर्व उपप्रधान एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। तोयानारायण ज्ञवाली, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा।महाविर पुन, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका महानिर्देशक बिष्णु प्रसाद भुसाल, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौला, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक शाखा प्रमुख लेखनाथ कंडेल तथा पर्यटन बोर्डका पदाधिकारीसँग भेटघाट गरी आयोजनाको विस्तृत प्रस्ताव पत्र पेश गरेको अध्यक्ष पौडेलले बताउनु भयो । सोही क्रममा टोलीले स्वरोजगार श्रृजना, उद्यमीलाई प्राविधिक ज्ञान र सरल बैकिङ्ग सुविधासँग जोड्ने उद्देश्यका साथ बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन कुमार गोल्यान र पदाधिकारीहरुसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष पौडेलको भनाई छ ।


नेपाल भित्र रहेका स्वदेशी उत्पादन र छिमेकी देशहरुमा प्रयोग भइराखेको नविनतम प्रविधिहरुबारे नेपाली उद्यमीहरुलाई जानकारी दिने उद्देश्यका साथ यस पटकको आयोजनालाई थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने बिषयमा समेत भ्रमणका क्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरुको आयोजना गरी अनुभव संगालेको स्पेश मिडिया सलुसन प्रा।लि।सँग समेत संघको पदाधिकारी टोलीले आयोजनाका विषयमा बृहत छलफल गरेको संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले बताउनु भयो ।


वि।सं। २०४५ सालमा काठमाडौं बाहिर प्रथम पटक राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको संघले प्रदर्शनीको यस पटक १५ औं संस्करणको आयोजना गर्न लागेको हो । हरेक पटकका आयोजनाहरुलाई समयानुकुल परिमार्जन र परिस्कृत गर्दै आएको संघले १५ औं संस्करणमा नयाँ स्वाद प्रस्तुत गर्दै स्वदेशी उत्पादनको प्रवद्र्धन, प्रदर्शन र बजारीकरणमा योगदान गर्ने लक्ष्य लिएको छ । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा कृषि, प्रविधि र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिइने संघका महासचिव हरि बहादुर खत्रीले बताउनु भएको छ ।


प्रदर्शनीको १५ औं संस्करणको बुटवल उपमहानगरपालिका र लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र सह—आयोजकको रुपमा र सम्बन्धित मन्त्रालयहरु र विभागहरु प्रवद्र्धकको रुपमा रही सहकार्य गर्ने संघले जनाएको छ । प्रदर्शनी सफल पार्न विभिन्न उपसमिति गठनका प्रक्रिया समेत अघि बढेको र यस पटकको आयोजनाले स्वदेशी उद्यमशिलताको विस्तार, स्वरोजगार अभिबिृद्धि र रोजगारी श्रृजनामा महत्वपूर्ण भूमिका खेल्ने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।