स्वास्थ्य कार्यालय रुपन्देही प्रथम

बुटवल, असोज १४ गते। स्वास्थ्य कार्यालय रुपन्देही सम्मानित भएको छ । स्वास्थ्य कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये काममा प्रथम तथा उत्कृष्ट भएपछि स्वास्थ्य कार्यलय रुपन्देही सम्मानित भएको हो । 
वार्षिक रुपमा हुने स्वास्थ्य कार्यक्रमहरु प्रदेशका १२ जिल्लामा उत्कृष्ट भएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले उत्कृष्टताको सम्मान पत्रले सम्मान गरेको हो ।
शुक्रबार दाङमा आयोजित प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालय तथा शाखाहरुको सहभागितामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीलाई उत्कृष्ट घाोषणा गरी सम्मानसमेत गरिएको हो ।
नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा काम गर्नका लागि बनाएको मापदण्डको आधारमा स्वास्थ्यका सबै सूचकहरु पुरा गरेको ठहर भएपछि उत्कृष्ट शाखाको रुपमा सम्मानित भइएको स्वासथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज हर्माले बताए । खोप विरुद्वका विभिन्न १३ वटा रोग, सुरक्षित मातृत्व सेवा, कुष्ठ रोग लगायतका अन्य रोगहरु नियन्त्रणमा स्वास्थ्य सूचकहरु पुरा गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए ।
दाङमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले उत्कृष्टताको प्रमााणसहित स्वास्थ्य कार्यालय रुपन्देहीलाई सम्मान गरेका हुन् ।