सेटिङमा उम्मेदवारी खोरेजी गरियो – राजु गुरुङ

बुटवल, कार्तिक १२ गते । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले सेटिङमा आफ्नो उम्मेदवारी खारेज भएको बताएका छन् । गठबन्धन दलका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका गुरुङले एमालेको सेटिङमा आफ्नो उम्मेदवारी खारेज भएको दावी गरेका छन् ।
वालुवा टारको सरकारी जग्गा हडप्ने विष्णु पौडेललाई चोखो बनाएर निर्वाचन आयोग र अदालतल आफ्नो उम्मेदवारी खारेज गरेर अन्याय गरेको बताए ।
निर्वाचन आयोगले उम्मेदवारी उपर दावी विरोधको समयसम्म कुनैपनि उजुरी आफु विरुद्ध नआएको बताएपनि अन्तिम समयमा आफु विरुद्धको उजुरी फ्याक्स मार्फत आएको र त्यो सवै सेटिङको भएको दावी गरे ।
शनिबार बुटवलमा रुपन्देही क्षेत्र नं. २ को गठबन्धनका उम्मेदवारसहित आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अदालतको फैसललाई आत्मसाथ गरेपनि सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक पार्टीको कार्यालय जस्तै भएको बताए ।
सर्वोच्च अदालतमा कुमार रेग्मीको ईजालसबाट आफ्नो उम्मेदवारी खारेजीको निर्णय सदर भएको भन्दै उनले भने – रेग्मी बालुवाटर जग्गा प्रकरणमा जोडिएर जग्गा फिर्ता गराएका व्यक्ति हुन् । उनले रुपन्देही २ मा विष्णु पौडेलको एकाधिकार तोड्नकै लागि भएपनि गठबन्धन दलबीचमा कुनै प्रकारको मतभेद नराखी निर्वाचनमा होमिन सवैलाई आग्रह गरे ।
आफू जस्तै मुलुकभर १५२ ना उम्मेदवारको कम्पनी कालो सूचीमा भएपनि उनीहरुको उम्मेदवारी खारेज नभई आफ्नो मात्र खारेज भएको उनले गुनासो गर्दै एमालेप्रति आक्रोस पोखे ।
पांच दलीय गठबन्धनका साझा उम्मेदवार गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने जनाएको छ । तर गठबन्धन भित्र रहेको राष्ट्रिय जनमोर्चाले भने रुपनदेही २ मा जनमुक्तिलाई सहयोग समर्थन गर्न नसकिने बताएको छ । राष्ट्रिय जनमोर्चाले नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर वासीलाई चुनावमा हसयोग र समर्थन गर्ने जनाएको छ ।