पाल्पाको समग्र विकास गर्ने स्वतन्त्र उम्मेदवार जीवलालकोप्रतिवद्दता

बुटवल, कार्तिक २३ गते । पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले राजनीतिक दलहरु असफल हुंदा पाल्पाको विकास हुन नसकेको बताएका छन् ।
ठूला दलका नेताहरु ३० वर्षदेखि सरकारमा रहंदा पनि पाल्पाको विकास हुन नसकेकाले पाल्पाली जनताको आकांक्षा पुरा गर्न र समग्र जिल्लाको विकासका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए ।
उनले पाल्पामा खानेपानी, सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास हुन नसकेको र पुरानै अवस्थामा पाल्पाली जनताले जीवन निर्वाह गर्नुपरेको अवस्थामा परिवर्तन ल्याउने प्रतिवद्वता जनाएका छन् ।
पाल्पामा राजनीतिक दलहरु असफल भएपछि आफुले उम्मेदवारी दिनु परेको बताउंदै उनले भने – पाल्पामा दलका नेता र सांसदहरुले विकास गर्न नसकेको जनताले राम्रमेसंग बुझेकाले मलाई जनताले मत दिन्छन् ।
उनले पाल्पाको खानेपानी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सडक विकासको नारा लिएर घरदैलो अभियानमा लागेका छन् ।
सिद्वाबाबाको सडक नबन्दा बर्षेनी सर्वसाधारणको जनधनको क्षती भएकाले उक्त सडक स्तरउन्नती गर्ने, पाल्पा दरबारको उचित संरक्षण र त्यसको प्रचार प्रसार गरी विकास गर्ने, रानीमहलको थप स्तरउन्नती र भौतिक विकास गर्ने मुल एजेण्डा बनाएका छन् ।
पाल्पा क्षेत्र नम्बर २ बाट स्वतन्त्रको रुपमा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएका जविलाल सुवेदी पर्यटन व्यवसायसंगै पत्रकारितामा आवद्वता छन् ।