फराकिलो मतान्तरले जित्छौ – एमाले विष्णु पौडेल

बुटवल, २५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेलले विगतको निर्वाचनभन्दा अहिले फराकिलो मतले चुना जित्ने दावी गरेका छन् ।
रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरी नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको उनको भनाइ छ । विकास र समृद्धिका लागि आगामी मंसिर–४ को निर्वाचनबाट जनताले नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने पौडेलले बताए ।
आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२ का विभिन्न वडाहरुमा घरदैलो अभियानलाई तिब्रता दिएका पौडेलले जनताको शासक होइन सेवक भएर आफूले काम गर्ने समेत प्रतिवद्धता गरेका छन् । ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौं । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाती, भाषभाषीका जनतालाई समान रुपले हामीले हेर्ने छौं ।’–पौडेलले भने, कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो ।
आज बुटवल–११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक शहरको रुपमा बिकसित गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरु जोड्ने सडकलाई कालोपत्रे गरिने छ भने, मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरु अघि बढाइने छ ।’–पौडेलले भने बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।
निर्माणाधिन भौतिक पूर्वाधारलाई पूर्णता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उनले बताए ।