बैंकको चर्को व्याज र घर भाडाका कारण व्यवसायी पलायनको अवस्थामा

बुटवल, माघ १३ गते । आर्थिक मन्दी, चर्को घरभाडा र बैंक व्याजका कारण व्यवसायी पलायन हुने अवस्थामा रहेको बुटवलका उद्योगी व्यवसायीले बताएका छन् ।
बजारमा देखिएको संकटको समाधान गर्ने विषयमा राज्यले ध्यान नदिएको उनीहरुको गुनासो छ । व्यवसायी पलायन अझबढ्ने र त्यसको प्रत्यक्ष असर राज्यको राजश्व संकलनमा पर्ने बताए । रुपन्देही व्यापार संघले शुक्रवार बुटवलमा आयोजना गरेको घर वहाल सम्बन्धी अन्तरक्रियामा बोल्ने व्यवसायीले पछिल्लो समयमा आएको आर्थिक संकटका कारण व्यवसाय ७० प्रतिशतले घटेको र व्यवसायीले घर भाडा तिर्न नसक्ने अवस्था आएपछि सटर बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
पछिल्लो एक सातामा बुटवलको वजार क्षेत्रमा दैनिक रुपमा करिव एक सय वटा सटरहरु खालीहुने गरेको उद्योगी व्यवसायीको दावी छ । खस्कदो व्यापारलाई बचाउन र पसल सञ्चालन गर्ने अवस्था सिर्जना गर्न चर्को घरभाडा र बैंक व्याजलाई कम गर्नका लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रा अर्यालले जनताको विकासको चाहाना र आवश्यक्तालाई पुरा गर्ने दायित्वमा स्थानीय सरकार कटिवद्ध रहेको आश्वासन दिंदै भनिन् – राजश्व संकलनमा कडाई गरिने र आर्थिक संकटका बेलामा यवसायीको हितविपरित गएर काम गरिदैन ।
कार्यक्रममा कालिका माविका अध्यक्ष नित्यानन्द ज्ञवालीले व्यवसायीलाई बचाउने दायित्व बुटवल उपमहानगरपालिकाको रहेको उल्लेख गर्दै अहिले राजश्व बढाउने भन्दा पनि जीवन बाच्ने आधार तयार गर्ने अवस्था आएको बताए ।
ज्ञानोदय माविका अध्यक्ष रामबहादुर कार्कीले व्यवसायलाई सहज रुपमा सञ्चालन कसरी गर्ने भन्ने विषयमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।
रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले चर्को घरभाडा र बैंकको व्याजका कारण व्यवसायी आफ्नो व्यवसायबाट पलायन हुने अवस्था आएको बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, द्वितिय उपाध्यक्ष दिपक अधिकारी, कोषाध्यक्ष नामदेव पाण्डे, सहसचिव फर्सुराम पन्त, सह– कोषाध्यक्ष मणी खनाल, रक्तसंचार केन्द्रकी राधाशर्मा, उजिरसिंह माविका अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायतले बोल्दै नीजि क्षेत्रप्रति सरकार उदासिन बनेको बताए ।
संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता र महासचिव दयानिधि भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।