समृद्धिको कार्यभर पूरा गर्नु सरकारको कर्तव्य हो – उपप्रधान तथा गृहमन्त्री

भैरहवा, चैत २८ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि परिणामुखी काम गर्ने बताएका छन् ।
सरकारले पूर्णता पाएपछि देखिने गरी परिणामुखी काम गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रेस सेन्टर नेपाल, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले भने – केही दिनमा सरकारले पूर्णता पाएपछि काम तीव्रताका साथ अघि बढ्छ ।”

उनले अर्थतन्त्रमा केही समस्या देखा परेको र समस्यालाई समाधान गर्दै अर्थतन्त्रलाई लयमा ल्याउन सके समृद्धिमा फड्को मार्न सकिने बताए ।
अर्थतन्त्रको समस्या पहिचान गर्ने र समाधानका उपायबारे छलफल गरी निष्कर्षमा पुग्नेमा प्रधानमन्त्री प्रचण्डले पहलकदमी गरिरहेको आश्वासन दिंदै गृहमन्त्री श्रेष्ठले भने – समृद्धिको कार्यभर पूरा गर्नु सरकारको कर्तव्य हो ।

अहिले राष्ट्रिय महत्वका चारवटा कार्यभार पूरा गर्नुपर्ने बताउंदै गृहमन्त्री श्रेष्ठले भने –राष्ट्रिय सार्वभौमिकता, स्वाधिनता, राष्ट्रिय एकतालाई सुदृढ गर्ने, ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तन तथा उपलब्धिलाई रक्षा गर्ने, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र सामाजिक तथा आर्थिक रुपान्तरण एवं आम मानिसको जीवनमा परिवर्तन ल्याउनुपर्ने छ ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि आन्तरिक र बाह्य सुशासनमा ध्यान दिएको बताउंदै शान्ति सुरक्षाको सुनिश्चितता गर्ने बताए ।
कालोबजारी र अपराध नियन्त्रण गर्न लागिपरेको बताउंदै गृहमन्त्री श्रेष्ठले भने – कुनै पनि अवैधानिक गतिविधि गर्न नपाइने र कसैलाई काखा र पाखा नगर्ने दाबी गरे ।

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय सुरक्षालाई प्रवद्र्धन गर्ने दायित्व गृह मन्त्रालयको भएको गृहमन्त्री श्रेष्ठले बताए ।