एकेडेमीले दियो जिल्ला कमिटिहरुलाई पूर्णता

 

 

सुमन अधिकारी
बुटवल, ८ बैशाख(दैपस) । मदन भण्डारी स्पोर्टस एकेडेमीले संगठन विस्तार र खेलकुदका प्रतियोगितालाई तिब्रता दिएको छ । युवाहरुलाई समेटेर एकेडेमीले खेलकुदको विकासमा योजनाबद्ध रुपमा गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
यसैक्रममा एकेडेमीले आफु मातहतको जिल्ला कमिटिहरुलाई पूर्णता दिएको छ । एकेडेमीले शुक्रबार एक परिपत्र जारी गर्दै जिल्ला कमिटिहरुलाई पूर्णता दिएको जनाएको हो । लुम्बिनीमा गत चैत्र २३ गते सम्पन्न राष्ट्रिय भेलाको निर्णय अनुसार जिल्ला कमिटिहरुलाई पूर्णता दिएका एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
एकेडेमीले हाल सम्म ३९ जिल्लालाई पूर्णता दिएको जनाउँदै अन्य जिल्लाका कमिटीहरु पनि यथासिघ्र निमार्ण गरिने अध्यक्ष आचार्यले जनाएका छन् । जिम्मेवारी प्राप्त कमिटिहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै उनले निर्णयको पूर्ण कार्यान्वयन संगै खेलकुद विकासलाई तिव्रता दिन आग्रह सहित निर्देशन गरेका छन् । आचार्यका अनुसार एकेडेमीले छिट्टै पालिकाहरुमा पनि कमिटि गठन गरि गतिविधि अगाडी बढाउने तयारी गरिरहेको छ ।
एकेडेमीको राष्ट्रिय भेला गत चैत्र २३ गते लुम्बिनीमा सम्पन्न भएको थियो । भेला संस्थाका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अध्यक्ष आचार्यले राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन् ।
यसैविच एकेडेमीले “सबैका लागि खेलकुद” भन्ने मूल नारासहित देशका विभिन्न स्थानमा क्रिकेट, कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता तथा फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तानलगायत प्रदेशस्तरीय प्रतियोगिता गर्ने तयारी गरिरहेको उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । जस मध्ये टेबुल टेनिस प्रतियोगिता सम्पन्न गरिसकेको छ ।