ढुवानी व्यावसायी समिति रुपन्देहीको आठौ अधिबेशन सम्पन्न

नयाँ नेतृत्व चयन, अध्यक्षमा भाट निर्वाचित

 

 

बुटवल/ढुवानी व्यावसायी समिति रुपन्देहीको १७ औं वार्षिक साधारणसभा तथा आठौ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशन अन्तरगत भएको निर्वाचनबाट जितबहादुर भाट अध्यक्षमा निर्वाचित हुनु भएको छ ।


यसैगरि समितिको बरिष्ठ उपाध्यक्षमा माधब आचार्य, प्रथम उपाध्यक्ष शंकर लमसाल, द्वितिय उपाध्यक्षमा रामनारायण ठाकुर मुन्ना, महासचिवमा कमल ढुङ्गाना, सचिवमा उज्वल केसि र कोषाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । कार्यसमिति सदस्यहरुमा भुमिराम गैरे (गोपाल ), झपिन्द्र थापा, अनिल भन्डारी र इन्दिरा नेपाल निर्बाचित हुनुभएको छ ।


अधिवेशन अन्तरगत भएको निर्वाचनमा अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । अध्यक्ष पदमा भएको मतदानमा भाटले बर्तमान अध्यक्ष श्यामराज हमाललाई १८ रनले पराजित गर्नु भएको हो । कुल मतदाता ६५ रहेकोमा ६० मत खसेको थियो जसमा भाटले ३८ र हमाले २२ मत प्राप्त गर्नु भयो । नवनिर्वाचित अध्यक्ष भाट ढुवानी समितिको संस्थापक सदस्य तथा हाल सल्लाहाकार हुनुहुन्छ ।
अध्यक्षमा निर्वाचित भएपछि प्रतिवद्धता मन्तब्य राख्दै भाटले सबै व्यवसायीहरुको भावना र एकतामा आफुले काम गर्ने बताउनु भयो । उहाले ढुवानी ग्रामको निमार्णको बाकि कामलाई पूर्णता दिदै सबै ढुवानी व्यवसायीलाई एकै थलोमा राख्न पहल गर्ने बताउनु भयो ।


यसअघि अधिवेशनको ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि खनालले ढुवानी व्यवसायमा देखापरेका समस्या समाधान र ढुवानी भाडाको लागि महासंघले सधै आवाज उठाउदै आएको भएपनि सरकार त्यसमा गम्भिर नबनेको बताउनु भयो ।
उहाले राज्यका कतिपय नितिका कारण ढुवानी सेवा संकटमा पर्ने अवस्था आएको भन्दै व्यवसायलाई बचाएर लैजानका लागि व्यवसायीक एकतामा जोड दिनु भएको थियो ।


कार्यक्रमका विशिष्ठ अतिथि बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवि अर्यालले ढुवानी व्यवसायीहरुको साथ र सहयोगमा बुटवलमा नेपाल कै नमुना ढुवानी ग्राम सञ्चालनमा ल्याएको बताउदै बुटवल उपमहानगरपालिका त्यसलाई पूर्णता दिन प्रतिवद्ध रहेको धारणा राख्नु भयो ।
समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव विष्णु प्रसाद गैरेको सञ्चालन, वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, बुटवल अटो इन्जिनियरि एशोसियसनका अध्यक्ष नारायण न्यौपाने, पश्चिमञ्चाल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, सल्लाहाकार लोकराजा पोखरेल, ढुवानी व्यवसायी महासंघका निर्वातमान अध्यक्ष सम्डुक बम्जन, नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, बुटवल उपमाहानगरपालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर पौडेल लगायत बोल्नु भएको थियो ।


त्यस अवसरमा नेपालमा नमुना ढुवानी ग्राम निमार्ण गरेको भन्दै ढुवानी व्यवसायी महासंघले बुटवल उपमहानगरपालिकालाई सम्मान गरेको थियो । महासंघको सम्मान बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवि अर्यालले ग्रहण गर्नु भएको थियो ।
अधिवेशनको दोस्रो चरणमा भएको बन्दसत्रले महासचिव विष्णुप्रसाद गैरेको वार्षिक प्रतिवेशन तथा कोषाध्यक्ष शंकर लम्सालको आर्थिक प्रतिवेदन छलफलपछि सर्बसम्मतले पारित गरिएको थियो ।