लुम्बिनी प्रदेश सरकारले ल्यायो बजेट

बुटवल, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८०÷०८१ का लागि ४० अर्ब ४७ करोड रुपैयांको बजेट ल्याएको छ । अघिल्लो वर्ष ४२ अर्ब ४३ करोड रुपैयांको बजेट ल्याएको सरकारले यस बर्ष २ अर्ब घटाएर ४० अर्ब ४७ करोड रुपैयांको बजेट ल्याएको हो ।

लुम्बिनी प्रदेश सभामा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले चालुतर्फ १३ अर्ब ६३ करोड, पूंजीगततर्फ २३ अर्ब २५ करोड र वित्तिय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड रुपैयां विनियोजन गरेको बताए ।
शुक्रबार सार्वजनिक कुल बजेटको ३३ दशमलव ६८ प्रतिशत नियमित खर्च हुने भएको छ भने पूंजीगततर्फ ५७ दशमलव ४५ प्रतिशत रहेको छ । स्रोत मध्ये आन्तरिकतर्फ ६ अर्ब ७३ करोड, राजश्व बँंडफांडबाट ११ अर्ब ३१ करोड रुपैयां, रोयल्टीबाट २९ करोड, स्थानिय तहबाट बांडफांड भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड रुपैयां स्रोत हुने छ ।

संघीय सरकारको वित्तिय समानिकरण अनुदानबाट ८ अर्ब १४ करोड, शसर्त अनुदानबाट ५ अर्ब ८३ करोड, समपुरक अनुदानबाट ८४ करोड र विषेश अनुदानबाट ५६ करोड रुपैयां स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको सञ्चित ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको छ । चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१ दशमलव २६ प्रतिशत र पूंजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत विनियोजन गरेको थियो ।
बजेटले कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको अर्थमन्त्री मास्कीले दावी गरेका छन् ।