रुपन्देहीका उद्यमी महिलाहरु औद्योगिक भ्रमणमा

बुटवल, असार ९ गते । रुपन्देही उद्योग संघमा आवद्ध महिला उद्यमीहरुको एक टोली औद्योगिक अध्ययन भ्रमणका लागि शनिवार चितवनतर्फ गएको छ । संघमा आयोजित एक कार्यक्रममा सो टोलीलाई विदाई गरिएको थियो ।

महिला उद्यमी वस्तुगत समिति संयोजक दिलु शाहीको नेतृत्वमा रहेको महिला उद्यमीहरुको भ्रमण टोलीलाई संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली तथा कोषाध्यक्ष हिरामणी भट्टराईले विदाई गरेका थिए ।


सो अवसरमा बोल्दै प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले अनुभव आदानप्रदान तथा क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको संस्थागत अध्ययन अवलोकन भ्रमणले उद्यमशीलताको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा आर्जन गरेको अनुभवलाई कार्यक्षेत्रमा आएर व्यवहारमा उतार्न सकिएमा त्यसले उत्पादनमा नयाँपन ल्याउने बताए ।

भ्रमण टोलीमा सहभागी महिला सचिव भुसालले बार्षिक कार्यक्रम अन्तरगत आयोजना गरिएको भ्रमणले धेरै कुरा सिक्ने अवसर पाउने बताउदै महिला उद्यमीहरुको क्षमता विकासमा बल पुग्ने विश्वास व्यक्त गरे ।।

भ्रमण दलका सदस्य तथा संघको सचिवालय सदस्य जमुना सुवेदी पोखरेलले उद्योग व्यवसायमा पछिल्लो समयमा आएको मन्दी र त्यसले पारेको असरलाई सामना गरेर अगाडी बढ्न तथा महिलाहरुको नेतृत्व विकासमा भ्रमणले हौसला प्रदान गर्ने आशा व्यक्त गरे ।

दुई दिने अध्ययन अवलोकन भ्रमणका क्रममा सो टोलीले चितवनमा महिलाहरुले सञ्चालनका गरेका उद्योग र व्यवसायहरुको अवलोकन गरि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको भ्रमण टोली संयोजक दिलु शाहीले बताइन ।
टोलीमा रुपन्देहीका १२ महिला उद्यमीहरुको सहभागीता रहेको छ ।