बुटवलले मनायो धान दिवस

बुटवल, असार १५ गते । बुटवल–बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ। उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो ।

  बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि व्यवसाय प्रवद्र्वन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २० औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवमा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा अध्यक्षहरु, महाशाखाका निर्देशकहरुसहित स्थानीयको सहभागिता थियो ।

 

सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको १२ देखि १९ सम्मका वडाहरुमा खेतीयोग्य जमीन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडि बढाइरहेको बताए । बुटवललाई आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गरिने नगर प्रमुख पाण्डेयले प्रतिद्दता जनाए । बुटवल १४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको बताउंदै आगामी वर्षदेखि तरकारी र धान गहुंको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताइन ।कृषिबाटै मुलुकको उन्नति हुने बताउंदै किसानले अझै बढी चासो दिनुपर्ने उपप्रमुखले बताइन ।
नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले धान दिवसको अवसरमा धान खेतीको उब्जनी बढाउनका लागि अरु धेरै लगानी गर्ने तयारी रहेको बताए ।
वडा नं १५ मा धान दिवस मनाएर नगरकै कृषि क्षेत्रको महत्व बढेको र यसले सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादनलाई बढाउनका लागि नगरले अनुदान र प्रोत्साहनका कार्यक्रम अगाडि सारेको बताए ।
किसानहरुको मनोवल उच्च गराई कृषि उत्पादनवृद्वि गर्ने लक्ष्यसहित बुटवल उपमहानगारपालिकाले धान दिवस मनाएको हो ।