भन्सार र खुल्ला सीमामा कडाइ गर्नुपर्छ – बुटवल उवासंघ

  बुटवल, साउन ८ गते । अर्थतन्त्र बलियो बनाउन भन्सार र खुल्ला सीमा नियमनमा थप कडाइ गर्न बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले माग गरेको छ । भन्सारमा कडाईको व्यवस्था रोक्ने काम राष्ट्रको हितमा नहुने संघले बताएको छ ।
सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्तालाइ लक्षित गरी सय रुपैंया बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिनुपर्ने बुटवल उद्योग वाणिज्य संघको माग छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सोमबार पत्रकार सम्मेलन गरी भन्सार नियमनमा खुकुलो पार्न नहुने संघका अध्यक्ष उज्जवलप्रसाद कसजुले बताए ।
भन्सार नियमन र खुल्ला सीमाबाट नेपालको कुल ग्राहस्थ उत्पादनको एक तिहाई बराबरको चोरी निकासी हुने भएकाले भन्सार नियमनमा कडाई गर्नुपर्ने अधयक्ष कजजुले बताए ।
स्थानीय व्यवसाय तथा उत्पादनलाई टेवा दिन भन्सार तथा खुल्ला सीमा नियमनमा थप कडाइ गर्न सरकारसंग माग गरे ।

कुल उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत योगदान नीजि क्षेत्रबाट भएकाले नीजि क्षेत्रलाई वेवास्ता गरिए अर्थव्यवस्थामा नकारात्मक असरपर्ने उनको भनाइ छ ।
राजश्व अभिबृद्विको भन्सार नियमनलाई कायम राख्दै सीमामा अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले सरकारसंग माग गरेको छ ।

संघका पूर्वअध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठले देशको अर्थतन्त्र बलियो बनाउन भन्सार तथा खुल्ला सीमा नियमनमा कडाई गर्नुपर्ने बताए ।
संघका अध्यक्ष उज्ज्वल कसजुको अध्यक्षता र महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए ।