विवेकशील सहकारीका संस्थापक सम्मानित

बुटवल, साउन २२ गते । रुपन्देहीको बुटवलस्थित वेलवासमा सञ्चालित विवेकशील सहकारीले संस्थापकहरुलाई सम्मान गरेको छ । विवेकशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ वर्षपछि संस्थापकहरुलाई स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।

सहकारीले विशेष कार्यक्रमको आयोजना गरी १६ वर्ष अडाडी अर्थात २०६५ साल साउन २१ गते विधिवत रुपमा सहकारी दर्ता गर्ने ३३ जना संस्थापकलाई सम्मान गरेको हो ।
१६ औं स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी विवेकशील सहकारीका संस्थापक र कर्चचारीलाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय र सहकारीका अध्यक्ष पूर्णबहादुर कार्कीले सम्मान गरेका हुन् ।

सहकारीका संस्थापक अध्यक्ष टेकबहादुर थापासहित ३३ जना संस्थापक र सहकारीमा १० वर्ष बढी काम गरेकी कर्मचारी उमा थापालाई खादा र सम्मान पत्रले यही साउन २१ गते सम्मान गरिएको हो ।

सहकारीको १६ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले सहकारीको विधिभित्र रहेर मात्र सहकारी सञ्चालन गर्न आग्रह गरेका छन् । विधि मिचेर मनोमानी ढंगले सहकारी सञ्चालन गर्न नपाइने र त्यासो गरेको जानकारी पाएमा बुटवल उपमहानगरपालिकाले कानुनी दायरमा ल्याएर प्रचलित कानुन अनुसार कारवाही गर्ने बताए । सहकारीको पैसा उचित ठाउंमा लगानी गर्न आग्रह गर्दै मेयर पाण्डेयले भने – बुटवल भित्र सञ्चालन गरिने सहकारीहरु बुटवल उपमहानगरपालिमा दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्छ ।

बुटवल वडा नम्बर १३ का वडा सदस्य लालबहादुर गुरुङले सहकारीको नियम कानुन पालना गरेर मात्रै सहकारी सञ्चालन गर्न आग्रह गर्दै गलत ढंडले सञ्चालन भएका सहकारी कारवाहीमा पर्ने बताए ।
सहकारीका अध्यक्ष पूर्णबहादुर कार्कीले विवेकशील सहकारी सही ढंगले चलेको र सही ठाउंमा लगानी रहेकाले सहकारीमा कुनै समस्या नरहेको बताउंदै हाम्रो सहकारीप्रति ढुक्क हुन शेयर सदस्यहरुलाई आग्रह गरेका छन् ।

सहकारीका संस्थापक अध्यक्ष टेकबहादुर थापाले सहकारीलाई नियमसंगत रुपमा चलाउन सकिए शेयर सदस्यहरु आर्थिक रुपले आत्मनिर्भर बन्न सक्ने बताए । सहकारीका संस्थापक सचिव रामप्रसाद अर्यालले सहकारीको माध्यामबाट गरिबी निवारणमा टेवा पुग्ने भएकाले विधिपूर्वक सञ्चालन गर्नु पर्नेमा जोड दिए । सहकारीका निःवर्तमान अध्यक्ष पुरुषोत्तम घिमिरेले सबै शेयर सदस्यहरुको अपनत्व हुने गरी सहकारी सञ्चालन गर्नुपर्ने बताए ।

उज्यालो सहकारीका अध्यक्ष पुरुषोत्तम बस्यालले केही सहकारीले गल्ती गर्दा राम्रा काम गर्दै आएका सहकारीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउंदै सहकारी सञ्चालक सचेत हुनुपर्ने बताए । सहकारीका सल्लाहाकार कृष्णबहादुर कुवंरले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके शेयर सदस्यहरुलाई प्रतिफल दिन सक्नेमा जोड दिए ।

सहकारीका कोषाध्यक्ष टंकप्रसाद पराजुलीले सहकारीको विधि र विधानको पालना गरी विवेकशील सहकारी सञ्चालन गरिएको बताउंदै बुटवल बाहिरबाट आएका केही सहकारीले गलत गर्दा अन्य सहकारीहरुलाई गलत नजरले हेर्ने गरिएकाले गलत गरेका सहकारीलाई स्थानीय सरकारले तत्काल कारवाही गर्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष पूर्णबहादुर कार्कीको अध्यक्षता, सचिव भरतराज गौतको सञ्चालन र कोषाध्यक्ष टंकप्रसाद पराजुलीको स्वागतमा पहिलो पटक १६ औं स्थापना दिवस मनाईएको हो ।

३३ जनाबाट शुरु भएको सहकारीमा अहिले १२ सय ५० जना शेयर सदस्य रहेका छन् ।