बुटवल उद्योग वाणिज्य संघले सेवा केन्द्र स्थापना गर्ने

बुटवल, साउन २२ गते । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्ने भएको छ । साना तथा मझौला उद्योगी व्यवसायीलाई आईपर्ने समस्या, नव उद्यमशीलता विकासमा सहजिकरण लगायतका उद्यमीका समस्या समाधामा सहजिकरणका लागि व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।


अन्तरप्रेरणा, आध्यान्त र वल्र्ड स्टार्टअपले संयुक्त रुपमा सञ्चालन गरेको रुफ अफ द वल्र्ड परियोजना अन्तरगत बुटवलमा व्यवसाय विकास सेवा केन्द्र सञ्चालन गर्न लागिएको रुप अफ द वल्र्ड परियोजनाकी परियोजना व्यवस्थापक रक्षा चालिसेले जानकारी गराइन ।

परियोजना अन्तरगत बुटवलमा व्यवसाय विकास सेवा केन्द्र तीन वर्षसम्म चल्नेछ । परियोजना सञ्चालन गर्ने विषयमा बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी वाणिज्य क्याम्पसको सहकार्यमा अन्तरप्रेरणाको आयोजनामा सोमबारदेखि दुई दिने रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ ।

कार्यशालामा अन्तरप्रेरणाका कन्सल्ट्यान्ट डाक्टर रामजी न्यौपानेले सहजिकरण गरेका छन् । नेपाली उत्पादनलाई निर्यातमा भएका समस्या, आन्तरिक बजारको अवस्था, व्यवसाय विकास सेवा केन्द्रबाट दिन सकिने सेवाहरु लगायतका विषयमा छलफल गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराए ।
कार्यशालाले तीनवर्षे कार्यक्रमको कार्ययोजना निर्माण गर्ने संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराएका छन् ।
कार्यशाला भोली साउन २३ गते सम्पन्न हुनेछ ।