बुटवलको बजेट पुस्तिका सार्वजनिक

बुटवल, भदौ १३ गते । बुटवल उपमहानगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरेको छ । बुधबार आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक गरिएको हो ।

सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चैतभित्रै योजना सम्पन्न हुनेगरी काम अगाडी बनाउन योजना र वडा कार्यालयहरुलाई निर्देशन दिएका छन् । उनले चैतभित्रै योजना सम्पन्न हुने गरी काम अगाडि बनाउन योजना र वडा कार्यालयहरुलाई निर्देशन दिएका हुन् ।
वर्षायाम लागेपछि योजना सम्पन्न गर्नेतर्फ लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहांले चोकमा बसेर मकै पोल्ने र खोलामा गिट्टी कुट्ने लगायतलाई वजेटबाट सम्बोधन गरिएको बताए ।

उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्नका लागि बुटवलमा नियमित सरसफाई अभियान सञ्चालन भैरहेको र हरियालीका लागि खाली क्षेत्रमा वृक्षरोपण गर्ने काम पनि भैरहेको बताए । उनले सडक क्षेत्रका छाडा चौपाया व्यवस्थापनका लागि दुई खालका नीति अपनाउंदै काम अगाडि बढेको बताए ।
बुटवल र बुटवलजस्ता अरु शहरहरुमा अन्यत्रबाट गाइवस्तु आउने र सडकमा बस्ने भएकाले राजमार्ग क्षेत्रका स्थानीय तहहरु र प्रदेश सरकारको समन्वयमा प्रदेशस्तरको गौशालासहितको संरक्षण केन्द्र बनाउने गरी प्रदेश सरकारसँग छलफल भइरहेको मेयर पाण्डेयलेजानकारी गराए ।

गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न गृहिणी महिला रोजगार कार्यक्रम, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम अगाडि बढाएको बताए ।

मेयर पाण्डेयले छिटै नै बुटवल १३ र १७ मा १५।१५ शैयाका अस्पताल सञ्चालन गर्ने र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने दावी गरे ।

लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्क बनाउँदै पार्किङ भवन र व्यवसायिक कोशेली भवन निर्माण गरिने बताए ।

 

उपप्रमुख सावित्रादेवी अर्यालले बजारलाई व्यवस्थित गर्न नियमित अनुगमन र व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको बताइन ।
बुटवललाई व्यवस्थित र सफा सहर बनाउनका लागि सबै क्षेत्रको साथ जरुरी रहेको उपप्रमुख अर्यालले बताइन । समयमै वजेट अनुसारको काम गर्न आग्रह गर्दै समयमा निर्माणका कामहरु नभए बजेट रोकिदिने चेतावनी दिइन ।

बुटवलका विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले बजेट र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बुटवल उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।

बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख मित्रमणि खनालको सञ्चालनमा कार्यक्रम भएको हो ।