मित्र मञ्च नेपालद्वारा भारतमा अलपत्र बालकको उद्वार

श्यामलाल पोखरेल बुटवल, असार १३ ।  भारतमा अलपत्र परेका रुपन्देही देवदह नगरपालिका चरङेका एक बालकलाई उद्वार गरिएको छ । भारतस्थित प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा मानव कल्याण मित्र मञ्च नेपालले भारतको बनारसबाट चरङेका अविनास सुनारलाई उद्वारा गरेको हो ।

भारतको बनरसमा बालकल्याण समितिले सञ्चालन गरेको बालगृहबाट १६ बर्षिय बालकको उद्वार गरी आइतबार घरपरिवारलाई बुझाएको छ । एक वर्षदेखि भारतमा अलपत्र परेका अविनास सुनार बालगृहमा रहेको थाहा पाएपछि नेपाली राजदुतावासको समन्वयमा उद्वार गरी मानव कल्याण मित्र मञ्च नेपाललाई बालकको जिम्म लगाइएको प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष विष्णुप्रसाद खनालले बताउनुभयो ।

प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष विष्णुप्रसाद खनाल र मञ्चका संरक्षक शेयरसिंह जिम्मालले उद्वार गरिएका बालकलाई नेपाल ल्याएर आउनु भएको थियो । उद्वार गरी ल्याइएका ति बालकलाई आइतबार देवदह नगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि, स्थानीय र सञ्चारकर्मीको रोहवरमा बालकका बुवा अमर सुनारलाई बुझाईएको हो ।

घरमा आमा र बुवाको सम्बन्ध विच्छेद भएपछि अभिभावकको मायां नएपछि सानीमालाई खोज्दै भारत गएको अवस्थामा आफु अलपत्र परेर नेपाल फर्कन नसकेको अविनास सुनारले बताएका छन् । नेपालमा आफ्नो थर सुनार भएपनि भारतको वालगृहमा अविनास थापा नाम लेखाएको उनले बताए ।

भारतमा अलपत्र परेका र हराएका नेपालीको उद्वार गरी नेपाल ल्याएर सम्बन्धित व्यक्तिको घरपरिवारलाई बुझाउने गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनुभयो । मञ्चले विशेष गरेर महिला र बालवालिकाको क्षेत्रमा काम गर्दै आएको छ । गैर सरकारी समाजिक संस्था संस्था मानव कल्याण मित्र मञ्च नेपालले भारतमा अलपत्र परेको केयौ नेपालीको उद्वार गरिसकेको छ ।