हिन्दु महिलाले पञ्चमी मनाए

बुटवल, असोज २ गते ।  भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले सप्तऋषिको पूजा गरी मनाएका छन् । आज बिहानै उठेर महिलाहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दांत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी सप्तऋषिको पुजा गरेका हुन् ।

हिन्दु नेपाली महिलाहरुको विशेष पर्व तीजसमेत ऋषिपञ्चमी पूजापछि विधिवत रुपमा यस वर्षको लागि सकिएको छ । हिन्दु संस्कार अनुसार महिलाहरुका लागि हरितालिका तीजसंगै ऋषिपञ्चमीको महत्व जोडिएको छ ।

रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटी भएको भए आजको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । विहानै स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ ।
सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । महिलाहरुले नांचगान र भजनकीर्तन गर्दै मध्यान्हमा अरुन्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी व्राम्हणलाई दानदक्ष्ँिणा दिने प्रचलन छ ।

ऋषिहरुको पूजा गर्दा विवाहित महिलाहरुले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दुर, पोते पनि चढाउने गर्दछन् ।