बुटवल उवासंघमा मतदान सम्पन्न, १५ सय ६ मत खस्यो

बुटवल, असोज २२ गते । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको २५ औं अधिवेशन अन्तरगत नयां नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा १५ सय ६ मत खसेको छ । १७ सय ७८ मत रहेको संघमा जम्मा १५ सय ६ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेयले जानकारी गराए ।

बिहान ९ बजेबाट शुरु भएको मतदान सांझ ५ बजे सकिएको थियो । संघको कार्यालय परिसरमा मतदान भएको हो । मतदान सकिएपछि मुचुल्का तयार गरी मतगणना शुरु भएको छ । अधिवेशनबाट आगामी कार्यकालको नेतृत्व चयनमा समहमति नभएपछि सोमबार निर्वाचन भएको हो ।

संघको ७० औं साधारण सभा यही असोज १९ गते भएको थियो । नयां नेतृत्वका लागि अध्यक्ष पदमा दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्याल नेतृत्वको टिमले छुट्टाछुट्टै प्यानल बनेको थियो । वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने श्रेष्ठ प्यानलबाट एकल उम्मेदवारी परेपछि निर्विरोध भएको छ ।

एकल उम्मेदवारी परेपछि वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । गैरे र भट्टराई दुबैलाई अर्याल प्यानले पनि समर्थन गरेको थियो ।