पत्रकार टिआर शर्मा पुरस्कृत

बुटवल, कार्तिक २५ गते । तिलोत्तमा मिडिया क्लवले शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण गरेको छ । क्लवले शनिबार आयोजना गरेको कार्यक्रममा ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार टोपराज शर्मालाई पुरस्कृत गरिएको हो ।

२५ हजार राशीको उक्त “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” क्लवका प्रमुख सल्लाहकार पत्रकार मोहन चापागाईंसंगको सहकार्यमा क्लवले स्थापना गरेको हो । क्लवले २०७९ सालको पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरेको हो ।

शर्मालाई पुरस्कृत गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले पुरस्कारको गरिमालाई जोगाएर पत्रकारितामा सक्रियताका साथ कलम चलाउन आग्रह गरेका छन् । पत्रकारिता समाजको ऐना भएको भन्दै पत्रकारिताको माध्यमबाट उजागर गरिने विषयले समाजलाई सही दिशा निर्देश गर्ने नगर प्रमुख खांणले बताए ।

तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सञ्चार जगतको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै समाचार सत्यतथ्यमा आधारित हुनुपर्ने बताइन ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकारिता पुरस्कार पाउनु भन्दा यसको गरिमालाई जोगाइराख्नु ठूलो कुरा भएको भन्दै यसलाई शिरोधार्य मानेर अघि बढ्न सुझाव दिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, पत्रकार महासंघका पूर्व अध्यक्ष मोहन चापागाई, पुरस्कृत पत्रकार टोपराज शर्मा, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष बीपी गौतम, संस्थापक अध्यक्ष लक्ष्मण पौडेल, सचिव कल्पना तिवारीलगायतले बोलेका थिए ।