कालिकामा जिल्ला स्तरीय रनिङसिल्ड प्रतियोगिता

बुटवल, पुस २ गते । बुटवलको कालिका माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा तेस्रो जिल्ला स्तरीय कालिका रनिङसिल्ड प्रतियोगिता शुरु भएको छ । २ गतेदेखि शुरु भएको प्रतियोगिता ७ गतेसम्म चल्ने छ ।

विद्यार्थीमा लुकेर रहेका खेलकुंद प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बलबहादुर पुन, नगर खेलकुंद विकास समितिका संयोजक बोनिन पिया, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, प्याब्सनका केन्द्रीय लोकनाथ उपाध्याय, बुटवल कालिका कलेज ब्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी, शिक्षक अभिभावक संघ अध्यक्षय केशवराज पोखरेलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बलबहादुर पुनले खेलकुंदलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिवद्वता जनाए । खेलाडी उत्पादनका लागि सबै विद्यालय खेलकुंद प्रतियोगिता आयोजना गर्नुपर्ने बताउंदै वडास्तरबाट हरेक खेल गतिविधिलाई निरन्तर सहयोग गर्दै आएको उनले बताए । यो प्रतियोगिता संचालन गर्न ३ लाख विनियोजन भएको र यसलाई बढाउंदै लैजाने वडाध्यक्ष पुनले आश्वासन दिएका छन् ।

नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले शिक्षासंगै विद्यार्थीलाई खेलकुंद आवश्यक पर्ने भएकाले खेलकुंद गतिविधि बढाउन आवश्यक रहेको बताए । नगरभित्रका सामुदायिक र नीजि विद्यालयहरुको योगदानका आधारमा खेलकुंद गतिविधिमा पालिकाबाट सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्याब्सनका केन्द्रीय सदस्य लोकनाथ उपाध्याय, विद्यालयका प्रधानाध्यापक दिनेश थापा लगायतले बोल्दै पढाईसंगै खेल जीवनको अभिन्न अंग भएकाले खेलकुंदलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

खेल संयोजक हरिश वलीका अनुसार प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स, रिले, तेक्वान्दो (छात्र÷छात्रा) पाँच विधामा ३२ स्वर्ण, ३२ रजत र ३२ कास्य गरी कुल ९६ वटा पदकको लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने छ । द्वितीय टिमले ३० हजार, तृतीय टिमले नगद २० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
प्रतियोगितामा जिल्ला भरका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका ८ सय बढी विद्यार्थीले खेलमा प्रतिस्पर्धा गर्ने छन् ।