कपिलवस्तुमा प्रगतिशील पत्रकार संघको बैठक, पर्यटकीयस्थल अवलोकन

कपिलवस्तु, माघ ७ गते । प्रगतिशील पत्रकार संघ केन्द्रिय समितिको प्रशिक्षणसहित ३ दिने कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष श्यामलाल पोखरलेको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका आन्तरिक गतिविधि पत्रकारिताको अवस्था र चुनौती विषयमा अन्तरक्रिया भएको थियो । अन्तरक्रिया र संगठनको बैठकसहित आयोजना गरिएको कार्यक्रममा कपिलवस्तुको विभिन्न पर्यटकीय क्षेत्र तिलौराकोट, सगरहवा तथा मूर्तिकार्यशालाको अध्ययन अवलोकन गरिएको थियो ।
कपिलवस्तुको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने उद्वेश्यले पर्यटकीय गन्तब्यहरुको अवलोकन गरिएको संगठनका अध्यक्ष श्यामलाल पोखरेलले बताए ।

प्रगतीशील पत्रकार संघको केन्द्रीय समितिको बैठकसमेत सम्पन्न भएको छ । पत्रकार कल्याण कोषका लागि १५ लाखको अक्षयकोष स्थापना गर्ने, केन्द्रिय समितिको रिक्त रहेको सदस्यमा माधव भाट क्षेत्री कपिलवस्तु र श्रीजना सुवेदी जुम्लालाई बैठकले मनोनित गरेको छ ।
बैठकले गत पौष २१ गते प्रगतिशील पत्रकार संघ नेपाल बाग्लुङ जिल्ला सचिव तथा पत्रकार विजय रानामाथी रिर्पोटिङको क्रममा प्रहरीबाट भएको दमन र लाठिचार्ज प्रति गम्भिर खेद प्रकट गरेको छ । त्यस्तै बैठकले लुम्बिनी गण्डकी प्रदेशहरुमा केन्द्रिय स्तरको कार्यशाला सहित पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने तालिम संचालन गर्ने, प्रदेश स्तरिय भेलाका लागि विभिन्न पत्रकारहरुको नेतृत्व रहने गरि ईन्चार्जकोसमेत जिम्मेवारी दिएको छ ।
जस अनुसार लुम्बिनीमा गोपालप्रुाद भट्टराई, कोशीमा महासचिव प्रकाश थापा मगर, बागमतीमा रमेश पौडेल गण्डकीमा ताराप्रसाद शर्मा, कर्णालीमा नारायण गिरी, सुदुरपश्चिममा विनोद पौडेललाई जिम्मेवारी प्रदान गदिईएको छ ।