बुटवलको कृषि मेला सकियो

बुटवल, फागुन १४ गते । बुटवलमा सञ्चालित राष्ट्रिय कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङगिक कृषि मेला–२०८० सोमबार सकिएको हो ।
कृषि मेलामा १५ हजार उपभोक्ताले अवलोकन गरेको र मेलाभित्र १५ लाखको कारोवार भएको संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराए ।

मेलाको समापन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कृषिको व्यवसायिक विकास गर्न प्रवद्र्धनात्मक मेला आयोजना गरेर बुटवल उद्योग वाणिज्य संघले किसान र उपभोक्तालाई जोड्ने मात्रै नभएर उद्यमशिलता विकास र रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
पाल्पा तिनाउ गाउंपालिकाका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले गाउंका किसानले उत्पादन गरेको विचौलीयाको मुल्यमा विक्रि गर्न किसान बाध्य भएको बताउंदै गाउं विस्तारै बृद्धाश्रम हुने हो की भन्ने चिन्ता रहेको बताए ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । यो मेला १२ औं संस्करणको कृषि मेला हो । ८८ वटा स्टल रहेको मेलामा उपभोक्तालाई कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिएको छ । मेलामा दाङको प्रेमनिस अल्लो धागो तथा तयारी पोशाक उद्योग उत्कृष्ट भएको छ ।

मेलामा रहेका ८८ वटा स्टलमध्ये कृषिजन्य कच्चा बस्तुको प्रयोगबाट राम्रो सञ्चालन गरेको प्रेमनिस अल्लो धागो तथा तयारी पोशाक उद्योगलाई प्रथम पुरस्कार प्रदान गरिएको छ । त्यस्तै चितवनको गोर्खाली कृषि औजार पसल द्वितीय र मेघवर्षा कृषि सहकारी संस्था तृतीय भएको छ ।