सुनचादीका गहना बनाउने शिप विकास तालिम सुरु

 

 

बुटवल ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देहीको आयोजनामा सोमवारबाट बुटवलमा ३ महिने सुन चादीका गहना बनाउने शीप विकास तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई समृद्ध बनाउन नगरका हरेक समुदायलाई सिपयुक्त बनाउनु जरुरी रहेको हुदा त्यसमा विशेष ध्यान दिएको धारणा राख्नु भयो ।


उहाले सुनचादी व्यवसायमा स्वदेशी कालीगडहरुको अभाव हुदा ठूलो संख्यामा विदेशी कालीगडहरुमार्फत पैसा विदेश गएको उल्लेख गर्दै त्यसलाई मनन गरेर स्थानिय सरकारले स्वदेशमै कालीगड उत्पादनमा जोड दिएको बताउनु भयो ।
प्रमुख पाण्डेले सुनचादी व्यवसायीहरुका सुरक्षा तथा अन्य समस्यालाई समाधान गर्न सहकार्यको माध्यमबाट अगाडी बढ्न आग्रह गर्दै नगरमा करिब ५०लाख बराबरको सुरक्षा क्यामरा जडान गर्न लागेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि उपप्रमुख सावित्रादेवी अर्यालले सुनचादी व्यवसायमा महिलाहरुलाई सिपयुक्त बनाउन सकेको खण्डमा स्वदेशमा रोजगारको व्यवस्था पनि हुने र आयआर्जनको ग्यारेन्टी पनि हुने विश्वास व्यक्त गर्नु भयो ।


कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपककुमार विकले आफुले ११ बर्ष अगाडी महिलाहरुलाई कालीगडी तालिम दिएको स्मरण गर्दै सुनचादी व्यवसायमा विदेशी कालिगडको निर्भतालाई अन्त्य गर्न यस प्रकारका तालिमलाई पाठ्यक्रम नै बनाएर नियमित बनाउनु पर्ने सुझाव राख्नु भएको थियो ।
संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी विकको सञ्चालन र कोषाध्यक्ष दलबहादुर विकको स्वागतमा भएको कार्यक्रममा नेपाल सुनचादी व्यवसायी संघ, लुम्बिनी प्रदेशका सहसचिव हरि सुनार, रुपन्देही उपाध्यक्ष एसरत्न वज्राचार्य, वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, कार्यपालिका सदस्य गोमा थली लगायत बोल्नु भएको थियो ।


संघको भवनमा आयोजना गरिने तालिममा बुटवल उपमहानगरपालिकाका १९ वडाबाट सहभागी छनौट गरिएको छ ।