बुटवलमा राष्ट्रिय लनटेनिस प्रतियोगिता शुरु

बुटवल, फागुन १५ गते । रुपन्देहीमा दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० शुरु भएको छ । लनटेनिस खेलको विकास र खेलाडीलाई प्लेटफर्म दिने उदेश्यका साथ बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही लनटेनिस संघको आयोजनामा मंगलबारदेखि प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।स्थानीय सरकार खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण लगानी गरेको बताउंदै खेलकुंदको क्षेत्रबाट बुटवललाई चिनाउन बुटवल उपमहानगरपालिकाले हरप्ररका सहयोग गर्दै लगानी बढाउने नगर प्रमुख पाण्डेयले बताए । ‘वार्षिक साढे ३ करोड रुपैया बजेट खेल क्षेत्रमा बिनियोजन गरेका बताउंदै उनले भने –लोपोन्मुख खेलहरुलाई समेत प्रवर्द्धन गर्ने हो ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बुटवल खेलकुदको हबका रुपमा विकास भैरहेको बताउंदै अन्तर्राष्ट्रियस्तरको कोर्ट बनाउन सहयोग गर्ने प्रतिवद्दता जनाए ।

कार्यक्रममा संघका अध्यक्ष गोपाल ज्ञवालीले बुटवलको प्रतियोगिता ऐतिहासिक रुपमा परिचय बनाएको बताए । हाल रहेको ४ वटा कोर्टलाई बिस्तार गरि ६ वटा बनाई अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिने सम्भावना रहेको उनले बताए ।

लनटेनिस कोर्ट निर्माणमा विभिन्न खेलप्रेमीहरुको सहयोग निरन्तर हुँदै आएको बताए । खेलप्रेमी उत्तम लामा र युकेन लामाबाट भएको ५ लाख रुपैया सहयोगमा लाईट जडान गर्ने काम भएको उनले बताए । बुटवलमा अन्तराष्ट्रिय प्रतियोगिता हुने वातावरण सरकारबाट गर्न उनले आग्रह गरे ।