एक्स्ट्राटेक ओभल क्रिकेटको उपाधि २०१४ को टोलीलाइ

बुटवल, फागुन २८ गते । रुपन्देहीको तिलोत्तममा नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन खेलको प्रतियोगिताको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि जितेको हो ।
२०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपाल टोली १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लागि लाक्पा लामा १० बलमा २० रन बनाएर अविजित रहे ।

यस्तै युनिल श्रेष्ठले १२ बलमा १८ रन बनाए । ओपनर सिता राना मगरले १४ बलमा १२ रन जोडिन् । अन्य व्याटर भने चल्न सकेनन् ।२०१४ टोलीका लागि साम्सन जंग थापाले ४ विकेट लिए भने शक्ति गौचन र बद्री पंगेनीले समान २–२ विकेट लिए । दिपेन लाम्गादेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको २०१४ विश्वकप लिजेन्ड्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०१ रनको विशाल योगफल खडा गर्यो । २०१४ टोलीका लागि कप्तान पारस खड्काले विष्फोटक इनिङ खेल्दै १२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर वीरेन्द्र शाहले १८ बलमा २९ रन बनाए । प्रफुल्ल वैद्यले १३ तथा दिपेन लाम्गादेले ९ रन जोडे ।

रेस्ट अफ नेपालका लागि लाक्पा लामा एक्लैले ४ विकेट लिए । उनले अन्तिम ओभरमा ४ विकेट लिएका थिए । यस्तै राजकुमार प्रधान र दीपेन्द्र चौधरीले समान १–१ विकेट लिए । रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने २०१४ टोलीले १९९६ लिजेन्ड्सलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।