भैरहवामा जारी क्रिकेटमा सैनामैना विजयी

भैरहवा, चैत्र ११ गते । भैरहवामा जारी क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’ खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको हो । उसले प्रोफेसनल मास्टर्स–११ लाई ५ विकेटले पराजित गर्दै विजयी भयो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ५० ओभरमा ४६ ओभर ४ बल खेल्दै १ सय ८७ रनमा अलआउट भयो । उसका लागि सफदर खाँनले ४४, आदित्य त्रिपाठीले ३६, मोहम्मद हुसेनले २९, मिथलेश यादवले २४, अमन यादवले १५ र इमरान खाँनले ११ रन बटुले । बलिङमा सैनामैनाका गोपाल शर्मा र सुनिल पौडेलले समान ३–३ तथा गणेश गौतमले २ र प्रदीप सुवेदीले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले ३७ ओभर २ बलमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा सुजन क्षेत्रीले ६४ रनको अर्धशतीक इनिङ खेले । उनले १० चौका र १ छक्का हिर्काए । यस्तै, सुनिल पौडेलले अविजित ३०, गाणेश घिमिरेले २७, प्रदीप सुवेदीले २१, निशान क्षेत्रीले १५ र मनिष क्षेत्री १२ रनको योगदान दिए । बलिङमा प्रोफेसनल मास्टर्सका तुसार चौहानले ३ तथा मोहम्मद हुसेनले २ विकेट लिए । खेलमा सैनामैनाका सुनिल पौडेल म्याद अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ हात पारे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

म्यान अफ द रजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयां दिइने छ ।
आगमी वैशाख ४ गतेसम्म जारी रहने प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ ।