पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा पदस्थापन

बुटवल, चैत २३ गते । पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिको यही चैत १७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सञ्चालक तथा रुट संयोजकहरुको शुक्रबार पदस्थापन गरिएको हो। निर्वाचित सञ्चालक तथा रुट संयोजकहरुलाई निर्वाचन समितिका संयोजक रामराज पोखरेलले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

पदस्थापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई सुन्दर सफा र ब्यवस्थित बनाउन सबैको सहकार्य जरुरी रहेको बताए । छाडा चौपायाका कारण दुर्घटना बढेको उल्लेख गर्दै बुटवल उपमहानगरपालिकाले ति चौपायाहरुको ब्यवस्थापनमा लागेको बताए ।

बुटवल उपमहानगरपालिका सडक दुर्घटनाका कारण बनेका छाडा चौपाया ब्यवस्थापनमा सक्रिय रहेको उल्लेख गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रालिको पनि साथ सहयोग चाहिने बताउंदै नगर प्रमुख पाण्डेयले सहयोग गर्न आग्रह गरे । पश्चिम नेपाल बस व्यवसायी प्रालिसंग सहकार्य गर्न बुटवल उपमहानगरपालिका तयार रहेको बताउंदै यातायात व्यवसायीका समस्या समाधान गर्न आफु हरदम तयार रहेको प्रतिवद्वता जनाए ।

कार्यक्रममा बोल्दै प्रालिका नवनिर्वाचित सञ्चालक दधिराम खरेलले यातायात क्षेत्रको सुधारका लागि पश्चिम नेपाल बस ब्यवसायी प्रालि सदैव अग्र स्थानमा रहेको बताए । आफु ब्यवसायीहरुको हितका पक्षमा सधै लडिरहेको बताउदै आगामी दिनमा पनि निरन्तर यातायात ब्यवसायीहरुको पक्षमा कामगर्ने प्रतिवद्धता जनाए ।
प्रालिमा राजनीति घुसाउन नदिने दावी गर्दै निर्वाचनमा भएको हारजीतलाई स्वभाविक रुपमा लिएर पेशागत हक हितमा एकतावद्द हुन सबै व्यवसायीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, यातायात मजदुर तथा ब्यवसायी भलाईकोषका अध्यक्ष दिनेश फुल्लेल, बुटवल यातायात प्रालिका दिपक श्रेष्ठ, बुटवल अटो ईन्जिनियरीङ एशोसिएसनका अध्यक्ष तुल्सी न्यौपाने, लगायतले आआफ्ना भनाई राखेका थिए ।
निर्वाचन समितीका संयोजक रामराज पोखरेलको अध्यक्षता, निर्वाचन समितिका सदस्य तथा पश्चिम नेपाल वस व्यवसायी समितिका पूर्व अध्यक्ष तुल्सीराम बन्जाडेको स्वागत र निर्वाचन समितिका सदस्य दिनेश पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो ।