मदनको सम्झनामा दौड प्रतियोगिता

बुटवल, बैशाख १ गते । एमालेका तत्कालिन महासचिव स्व. मदनकुमार भण्डारीको ३१ औं स्मृतिमा बुटवलमा राष्ट्रिय खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । नेता मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसर पारेर मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलमा आगामी बिहीबारदेखि १ लाख पुरस्कार राशी रहेको राष्ट्रिय खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुंदै छ ।

प्रतियोगिताबारे एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी एकेडेमीका अध्यक्ष धुर्व आचार्यले प्रतियोगिताबारे जानकारी गराएका छन् ।
एकेडेमीका अध्यक्ष धुर्व आचार्यका अनुसार खुल्ला हाफ म्याराथनसंगै १० किलोमिटर दुरीको कलेज स्तरिय खुल्ला छात्र तथा खुल्ला महिला दौड, पांच किलोमिटर दुरीको विद्यालय स्तरिय खुल्ला छात्र र तिन सय मिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता आयोजना गरिने छ । उक्त प्रतियोगितामा ६० वर्ष भन्दा माथीका जेष्ठ नागरिकका लागि १६ सय मिटर दुरीको वाल्कथुन र १० वर्ष भन्दा मुनीका बालबालिकाको लागि एकसय मिटरको दौड प्रतियोगिता राखिएको अध्यक्ष आचार्यले बताए ।
प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहनबहादुर घलेले सबै विधाका प्रतियोगितामा छैटांै स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई नगदसहित पुरस्कृत गरिने बताए ।

प्रतियोगिता अन्तरगत हाफ म्याराथनमा प्रथम हुनेले नगद एकलाख, दोश्रोले ७५ हजार, तेश्रोले ५० हजार, चौथोले ३० हजार, पांचौले २० हजार र छैटौंले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै १० किलोमिटर दुरीको कलेज स्तरिय खुल्ला छात्र तथा खुल्ला महिला दौड प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय गरि क्रमशः छैटौ सम्मले ३५, २५, १५, १०, ७ र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

विद्यालय छात्रमा प्रथमदेखि छैटौसम्मले क्रमशः २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार तथा छात्रा ३ किलोमिटर दौडको भने प्रथमदेखी छैटौसम्म क्रमशः १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । एकेडेमीले खुल्ला हाफ म्याराथनसंगै थप चार विधाका दौड दौड प्रतियोगितासमेत आयोजना गरेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको २०६६ सालमा स्थापना भएको थियो । संस्थाको स्थापनादेखि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।