बुटवलको बजेट २ अर्ब ९९ करोड २२ लाख

   बुटवल, असार ९ गते । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५ औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूंजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्ष २०८१।०८२ को वार्षिक बजेट तथा कार्यक्रम पेश गरेकी हुन् ।

बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताइन ।

बजेटमा उल्लेख भए अनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैया, नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन १ करोड रुपैयां बजेट विनियोजन गरेको बताइन । शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसंख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने उदेश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको उपप्रमुख अर्यालले बताइन ।

बुटवलले शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तरगत ५ करोड छुट्टाईएको छ । बुटवलले विद्यार्थीसंग नगर प्रमुख, बालबालिकासंग उपप्रमुख र एक विद्यार्थी एक बैंक खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रम अन्तरगत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजा खुवाउने विद्यालयहरुमा १० रुपैया थप गरी २५ रुपैयां गराउनेजस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ । यस्तै यसवर्ष लुम्बिनी बस टर्मिनलमा विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्न १ करोड र उज्यालो बुटवल कार्यक्रमअन्तरगत बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाईट जडानका लागि ४ करोड रुपैयाँ बजेटमा राखिएको छ ।
मुख्य राजमार्ग, भित्री सडकहरु सौन्दर्यीकरण, ट्राफिक लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन् । जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता महत्वपूणर् स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गर्ने भनिएको छ ।
बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । बुटवलदेखि नुवाकोट जाने पैदलमार्ग निर्माणका लागि १ करोड, पैदलमार्गमा शिव मुर्ति निर्माणका लागि १ करोड रुपैयाँ र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि १ करोड रुपैयाँ बजेटमा समावेश छन् । बुटवलदेखि लुम्बिनी जोड्ने, मुक्तिनाथ, बाँके बर्दिया, आसपासका पर्यटकीय स्थलहरु जोड्ने र बुटवल–चितवन–पोखरा त्रिकोण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने, रात्रीकालीन बजार सञ्चालनमा विपन्न वर्गलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा देखिने कार्यक्रमका रुपमा रहेका छन् ।
बुटवललाई रोजगार र स्वरोजगारका स्थापित गर्न गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउंदै उत्पादन तथा बिक्रीसंग जोड्न नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेटको व्यवस्था गरिएको छ ।
बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउंपालिकामार्फत विकासका कार्य गर्न बुटवलले २ करोड छुट्टाईएको छ । मुख्य चोक, चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतीक्षालय निर्माणका लागि २ करोड, छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्रामस्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याएको बजेटमा उल्लेख छ ।

बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम समावेश छन् । खेलकुंदमा बुटवल १६ डहरगाउंमा क्रिकेट मैदान निर्माण गर्न १ करोड र बुटवल १३ को जवई खेलमैदान जाने सडक निर्माण गर्न १ करोड छुट्टाईएको छ । बुटवलमा सञ्चालनमा रहेका व्यवसायहरु करको दायरामा नआएपछि त्यसलाई नियमनमा ल्याउन बुटवलले राजस्व संकलन स्पेशल टास्क फोर्स गठनको विधि अपनाउने कार्यक्रम ल्याएको छ ।
आइतबारको बैठकमा नगर प्रहरी ऐन र अन्य केही ऐनहरु संसोधनका लागि टेबुल भएका छन् । यही असार २१ गते बुटवलको नगरसभा हुने छ ।