साउन ३ र ठुली आमाको अवशान !

सुवास जीसी
२०१८ सालमा प्युठान लुङ्ग लेखमा बुवा सामरत के.सि. र आमा देवा कुमारी के.सि.को कोखवाट चौथो सन्तानको रुपमा भगवता (ठुलीआमा)को जन्म भयो । इन्द्रवहादुर, हुकुमवहादुर (दिवंगत), मोहन, रेकम , गणेश र वसन्ता (मेरो आमा) अन्य सन्तानहरु हुनुहुन्छ ।

ठुलीआमाको विवाह पन्ध्र वर्षको उमेरमा २०३३ सालमा तुषारा निवासी आदरणीय हुकुमवहादुर वस्नेत (खैराली– प्युठान खैराका वस्नेत भएकोले)सङ्ग भयो । मकरपाटे भनिने उहाँहरुको वसोवास तुषारा रोटेपानी स्कुलदेखि केही पर थियो । उहाँहरुवाट २०४१ सालमा जेठो सन्तानको रूपमा छोरा चक्रको जन्म भयो, २०४४ सालमा छोरी शान्ता, २०४६ मा कमला, २०४८ मा छोरा हेमराज र २०५२ साल माघमा अर्को छोरोको जन्म भयो ।

२०५३ साल साउन महिनाको ३ गते अर्थात आज भन्दा ठिक २९ वर्ष पहिले यो परिवारमा ठुलो बज्रपात आइपर्यो । त्यो कहालीलाग्दो रातभर अविरल वर्षा भयो । घरमाथीवाट ठुलो पहिरो आयो र छ महिनाको छोरासहित तीन भाइ छोरालाई पहिरोले लग्यो । २ छोरी , ठुलोबुवा र ठुलीआमा बाँच्नु भयो । उहाँहरुको सास त रह्यो तर ३÷३ छोरा गुमाउनुको पीडा जिन्दगीभरलाई पुग्यो । त्यो चोटवाट निस्कन अब अर्को जुनि कुर्नुपर्ने भयो ।

त्यो घटनापछि उहाँहरुले त्यो थलो छोड्नु भयो र रोटेपानी स्कुल नजिकै वस्न थाल्नु भयो । पछि २०५४ मा छोरी सीता र २०५६ मा छोरा नवीन जन्मिए । दुखका घाउमा अलिकती मलहम लाग्यो ।
ठुलीआमालाई त्यो खुसी टिक्न धेरै वर्ष लागेन २०६६ सालमा घाँटीमा समस्या देखियो । देशको उपचारले निको नभएपछि भारत जानुभयो । भारत पुग्दा घाँटीको क्यान्सर भैसकेको थियो । करिव ४ वर्षको लामो उपचारपछि (भारत र नेपालमा समेत) घाँटी अलिकती ठिक भयो । तर आवाजको धेरै अंस गुम्यो । स्वास्थ्यको समस्याका कारण प्युठान तुषाराको वसाई असहज हुने भयो २०७४ सालमा प्युठान छाडेर दाङ्गको भालुवाङ्गमा वसाई सर्नु भयो । यस वीचमा अरु कयौं घटनाको उतारचढाववाट जिन्दगी गुज्रियो ।

अहिले गत असारको पहिलो हप्ता तिर ठुलीआमाको स्वास्थ्यमा पुन समस्या देखियो । स्वासप्रश्वासमा समस्या देखिएपछि नवलपरासी डण्डामा रहनुभएकी दिदी शान्ताले उपचारको लागि भरतपुर क्यान्सर हस्पिटल लैजानु भयो । सबै चेकजाँच पछि फोक्सोमा क्यान्सर देखियो । विमारिको स्थिति झन् झन् गम्भीर हुँदै गयो । चितवनमा थप उपचार सम्भव नहुने भएपछि दिदिले ठुलीआमालाई भालुवाङ्ग नै फर्काउनु भयो ।
तीन छोरा एकैपटक गुमाउनु भएकी ठुलीआमाको जीवनमा अर्को नमिठो संयोग भयो । २०५३ साल साउन ३ गतेको उक्त घटना भएको ठिक २९ वर्षपछि हिजो साउन ३ गते साँझ भालुवाङ्गमा ६ः१५ बजे ठुलीआमाले आफ्नो जिन्दगी पनि सदाको लागि त्याग्नु भयो । क्यान्सरसङ्गको १५ वर्षको लडाईको अन्त्य भयो, ठुलीआमाले हार्नु भयो ।

आफ्नो जीवनभर ठुलीआमाले ठूलो संघर्ष गर्नुपर्यो, पीडाहरुसङ्ग पैठेजोरी खेल्नुपर्यो । तर पनि उहाँ एउटा महान आमा हुनुहुन्छ जसले आफू पीडामा भएर पनि हामीलाई सधै आत्मविश्वासको वाटो देखाइरहनुभयो । हाम्रो अगाडी जीवनभर हाँसिखुसी नै जिन्दगी कटाउनु भयो । यद्यपि उहाँलाई आफ्ना सन्तानको प्रगति र खुसी देख्ने उमेर बाँकी रहेन ।
अन्तमा ठुली आमाप्रती उच्च सम्मानसहित भावपुर्ण श्रद्धाञ्जली । तपाई, हाम्रो यादमा सदासर्वदा अविस्मरणीय रहिरहनुहुनेछ । धेरै माया ठुलीआमा ।