तिनाउ गाउंपालिकाको गाउंगाउंमा कृषि औजार वितरण

श्यामलाल पोखरेल बुटवल, असार ११ । पाल्पाको तिनाउ गाउंपालिकाले किसानहरुलाई कृषि सामाग्री वितरण गरेको छ । एक गाउं एक उत्पादन भन्ने कार्यक्रम अनुसार गाउंपालिकाले किसानहरुलाई बीउ, मल, प्लास्टिक ,मल्चिङ र स्प्रे लगायतका सामग्री वितरण गरेको हो ।

गाउंपालिका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठका अनुसार तिनाउको वडा नम्बर १ को कुंडापानी, मुर्तुङ, ताल, वखलढुंगा, कचल लगायतका गाउं टोलमा कृषि सामाग्री वितरण गरिएको छ ।

गाउंपालिकाले छुट्टाएको १७ लाख बजेटबाट ८५ घरधुरीलाई कृषि सामाग्री वितरण गर्ने लक्ष्य अनुसार शुक्रबारसम्म ५१ घरधुरीका किसानलाई उक्त कृषि सामाग्री वितरण गरिएको छ ।

किसानहरुलाई आत्मनिर्भर बनाउने उद्वेश्यले तिनाउ गाउंपालिकाले कृषि कार्यक्रम ल्याएको प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष राजेश श्रेष्ठले जानकारी गराउनुभयो ।

बुटवलसंग जोडिएको पाल्पाको तिनाउ गाउंपालिका कृषि र पर्यटकीय क्षेत्रको हिसावले अब्बल मानिन्छ । परा पूर्वकालदेखि कृषिमा आवद्व त्यहांका सर्वसाधारण किसानहरु पछिल्लो समय कृषिमा आत्मनिर्भर बन्दैछन् ।

परम्परावादी कृषि प्रणाली अपनाउंदै आएका त्यहांका किसानहरुलाई गाउंपालिकाले आधुनिक कृषितर्फ आर्कषित गर्दै आएको छ । तिनाउ गाउंपालिकाका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठसहित गाउंपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीहरुले किसानको घरघरमा पुगेर कृषि सामाग्रीहरु निःशुल्क रुपमा वितरण गर्दै आधुनिक कृषि प्रणालीबारे जानकारी गराएपछि त्यहांका किसानहरु आधुकिन कृषि प्रणालीमा आर्कषित भैसकेका छन् । भौगोलिक हिसावले प्रकृतिको धनी तिनाउ गाउंपालिका पर्यटकीय सुन्दरतालेसमेत भरिपूर्ण छ । मानव सभ्यताको रामापिथेकशको बंगरा भेटिएको ठाउंपनि तिनाउ गाउंपालिमा नै पर्दछ ।