नविनको अभियान जन्मदिनमा रक्तदान

बुटवल, असार १४ । आफ्नो जन्म दिन मनाउनु स्भाविकै हो । तर पछिल्ला केही वर्ष यतादेखि तड्क भड्कका साथ जन्मदिन मनाउने चलन बढेको छ । जन्मदिन मनाउंदा अरुको देखासिकी गरी फजुल खर्चगर्ने संस्कृतिको विकास नै भएको छ ।

तर बुटवलका एक व्यवसायीले विगत पांच वर्षदेखि रक्तदान कार्यक्रमको आयोजना गरी जन्मदिन मनाउदै आएका छन् । जन्मदिन मनाउंदा हुने फजुल खर्च कटौती गरी लुम्बिनी केमिकलका सञ्चालक युवा व्यवसायी नविन पोखरेलले सोमबार बुटवलमा रक्तदान कार्यक्रम गरेका हुन् ।

युवा व्यवसायी पोखरेलले घर परिवार, आफन्त, नजिकका साथीभाइ जम्मा गरेर बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान गरेका छन् । व्यवसायी पोखरेलले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पोका रगत संकलन भएको रक्तसञ्चार सेवा केन्द्र बुटवलकी वरिष्ठ ल्याव टेक्निसियन राधा शर्माले जानकारी गराइन ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । रगतको अभावले कोही पनि मर्न नपोरोस भन्ने सेवा भावको उद्वेश्यले जन्म दिनमा रक्तदान कार्यक्रमको आयोजना गरेको नविन पोखरेलले बताए ।

जन्मदिन मनाउंदा अनावश्यक फजुल खर्चहुने भएपछि रक्तदान गरेपछि जसलाई पनि कामलाग्न सक्ने र जोखिममा परेको मानिसलाई बचाउन सकिने भएकाले जन्मदिनमा रक्तदान रोजेको व्यवसायी पोखरेलको भनाइ छ ।

नयां पीडिलाई पनि जन्मदिनमा मानवीय सेवामा लाग्न पे्ररेणा दिनसके समाजमा मानवीय सेवा भाव बढ्न सक्ने र भविष्यमा समाजमा केही अभाव हुन नसक्ने उनको तर्क छ । ठूलो खर्च गरेर होटल, रेष्टुरेण्टमा गएर जन्मदिन मनाउनुको साटो रक्तदान गर्नुले समाजलाई सकारात्मक सन्देश दिने नेपाल स्वयंसेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहानले बताए ।