टी–२० क्रिकेट लिग प्रतियोगितामा चार टोली भिड्ने

बुटवल, जेठ १३ गते । युवा क्रिकेट खेलाडीहरूलाई प्रोत्सान गर्ने उद्देश्यले बुटवलमा १४ वर्ष मुनिको क्रिकेट लिग हुने भएको छ । बुटवल क्रिकेट एकेडेमीको आयोजनामा जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म “बुटवल क्रिकेट एकेडेमी लिग–२” हुने भएको हो ।

एक्स्ट्रा टेक ओभल ईन्टरनेश्नल क्रिकेट स्टेडियममा आयोजना गरिने प्रतियोगिताको सबै तयारी पुरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक क्लबका सल्लाहकार निरजप्रताप खाँडले जानकारी गराए ।

प्रतियोगिता टी–२० ढाँचामा खेलाइनेछ भने चार टोलीबीच कुल ७ खेल हुनेछन् । लिग चरणमा प्रत्येक टोलीले एक–अर्कासँग एक पटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणपछि अंक तालिकाको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा बुटवल वरियर्स, बुटवल टाईटन्स, रोयल च्यालेन्जर्स बुटवल र बुटवल सुपर किङस रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद रु २० हजार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफीसहित रु १० हजार पुरस्कार पाउनेछन् । त्यसैगरी “म्यान अफ द सिरिज”, “बेस्ट ब्याट्सम्यान”, “बेस्ट बलर” तथा प्रत्येक खेलका “म्यान अफ द म्याच” लाई ट्रफी प्रदान गरिने छ ।

पछिल्लोसमय खेलाडीहरुमा ब्यवसायिकसंगै आयआर्जन हुने गरि खेल क्षेत्र अघि बढेको खेलप्रेमी मेघराज भट्टराईले बताए ।ग्रासरुट खेल विकासमा क्लबको महत्वपूर्ण योगदान रहेको बताउदै खेलकुद क्षेत्रको पूर्वाधार विकास, आधुनिकता र प्रविधि विकासमा जोड्न जरुरी रहेको उनले बताए । नेपालको खेलकुद क्षेत्रमा अग्रसर रहेको भएपनि आवश्यक उपलब्धिसम्म पुग्न नसकेको उनले बताए ।

खेलाडीहरूको ब्याटिङ, बलिङ, फिल्डिङ तथा नेतृत्व क्षमताको विकास गर्नुका साथै भविष्यका जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी पहिचान गर्ने उद्देश्य रहेको क्लबका सचिव प्रथम पराजुलीले बताए । बुटवलमा ग्रासरुट क्रिकेट विकासलाई मजबुत बनाउने र युवा खेलाडीलाई खेलप्रति प्रेरित गर्ने लक्ष्यका साथ एकेडेमी संचालन गरिएको हो ।
प्रतियोगिताको फाइनल २३ गते हुने छ ।